जलहरीमा विद्या भण्डारी, केपी ओलीको नाम कुँदिएकोबारे बर्तौलाः उद्घाटन गर्नेको लेखिनु सामान्य

Advertisement

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले जनतामा भ्रम छरिरहेको जिकिर गरेका छन् । सोमवार संसद भवन बाहिर उनले जलहरीमा विद्या भण्डारी, केपी ओलीको नाम कुँदिएकोबारे प्रतिक्रिया दिँदै उद्घाटन गर्नेको लेखिनु सामान्य भएको तर्क गरे । 

पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको बताउँदै बर्तौलाले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अतियार दुरुपयोग अनुसन्धान आयोग जानु÷नजानु भन्नेकुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने बताए । 

Advertisement

उनले नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको आरोप लगाए । एमाले नेताहरु जोडिएका घटनाहरु कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न बर्तौलाले माग पनि गरे । उनले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्नेकुरा सामान्य विषय भएको बताए । 

बर्तौलाले नेतृत्व लिएको हिसावले नाम आए पनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वभाविक भएको बताए । उनले भने, ‘पशुपतिको जलहरीमा कहीँ कतै बदमासी भएको छ भने बदमासी गर्नेहरुलाई कारबाही गर्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । कठघरामा ल्याउनुपर्छ । हामीसँग सरोकारको विषय होइन यो । सरकारले के रहेछ सत्यतथ्य ? त्यो बाहिर ल्याउनुपर्छ । एमाले यस्तो बदमासीमा कहिले पनि मुछिँदैन ।’

बर्तौलाले थपे, ‘अख्तियार कहाँ गएर के खोजी गर्छ ? त्यो उसको विषय हो । नेकपा एमालेका नेता जोडिएका केही घटना, काण्डहरु छन् । भने त्यस्ता घटनाहरुमा छानबिन होस् । हामी हाम्र कोही पनि नेताहरुलाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ । कुनै गलत काम हामीबाट भएको छैन् । पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्नेकुरा पूर्वाग्रहपूर्ण हो । केपी ओलीको लोकप्रियता छ । राष्ट्रले भरोसा गरेको छ । त्यसको बिरुद्धमा यो आएको हो ।’ 

सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताए । 

Advertisement

Advertisement