आज संसदीय समितिको सभापतिका लागि मनोनयन, शक्तिशाली लेखा समितिमा को आउला ?

Advertisement

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि आज आइतबार संसदीय समितिहरुको सभापतिका लागि मनोनयन दर्ता र भोलि सोमबार चयन गरिँदै छ । ठूला भ्रष्टाचारका मुद्दाहरु पेचिलो ढंगले उठेसँगै र भागबण्डा नमिलेका कारण ठूला दलहरुले समितिका सभापति चयनमा आनाकानी गर्दै आएका थिए । 

प्रतिनिधिसभामातहत १० वटा विषय समिति छन् । मिनि पार्लियामेन्टको रुपमा चिनिने यी समितिको सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरिएको छ । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

Advertisement

अहिलेसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । संसदीय समितिहरुमा सबैभन्दा शक्तिशाली मानिने लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिने चलन छ । सोअनुसार नेकपा एमालेले उक्त समितिको सभापतिका लागि कस्लाई अघि सार्छ ? चासोको विषय बनेको छ । 

स्रोतका अनुसार एमालेले लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । उनी गएको संसदीय निर्वाचनमा मोरङ– २ बाट प्रत्यक्ष निर्वाचित साँसद हुन् । यो समितिको सभापतिमा एमालेका गोकुल बास्कोटा, योगेश भट्टराईलगायतले पनि चासो राखेका थिए । तर एमाले अध्यक्ष केपी ओलीले भने पोखरेललाई अघि सारेका हुन् । 

एमालेले लेखा समितिसहित तीन वटा समितिमा दावी गरेको छ भने कांग्रेसले चार वटा समितिमा दावी गरेको छ । सभापतिका लागि दावी गर्नेमा एकीकृत समाजवादी र जनमत पार्टीसम्म छन् । 

Advertisement

Advertisement