अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल भृकुटीमण्डपमै बनाऊ

Advertisement

हरेक वर्ष जब ठूला मेला र प्रदर्शनी आयोजना हुन्छन्, तब सुविधासम्पन्न प्रदर्शनीस्थलको अभाव खड्किन्छ । ३ दशकदेखि स्वदेशी÷विदेशी उद्योगी÷व्यापारीले जीर्ण बन्दै गएको राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा काम चलाउँदै आएका छन् । यसको विकल्पमा सरकारले चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने घोषणा गरेको झण्डै एक दशक हुन लागिसक्यो । तर त्यो अहिलेसम्म बन्न सकेको छैन । 

प्रत्येक वर्ष सवारीसाधनको बृहत् प्रदर्शनी ‘नाडा अटो शो’, सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ जस्ता प्रदर्शनी आयोजना हुँदा सुविधासम्पन्न प्रदर्शनीस्थलको अभाव महसुस हुन्छ । व्यवसायी जताततै पानी चुहिने प्रदर्शनी हलमा अस्थायी व्यवस्थापन गरेर मेला आयोजना गर्न बाध्य छन् । यो प्रदर्शनी हलले ठूला प्रदर्शनी गर्न नपुग्ने भएकाले ठूलै खर्च गरेर ‘पेभिलियन’ बनाउनुपर्ने बाध्यता छ । यसको संरक्षणको जिम्मा पाएको समाज कल्याण परिषद् प्रदर्शनीस्थलको संरक्षण र विकासका लागि लगानी नगर्ने तर हरेक वर्षजसो भाडा बढाएर बढीभन्दा बढी भाडा संकलन गर्न तल्लीन छ । 

Advertisement

काठमाडौं महानगरपालिकाले खुल्लामञ्च खाली गर्दा सारिएका साना व्यापारीका कारण भृकुटीमण्डप थप अव्यवस्थित र प्रदूषित बन्न पुगेको छ । राजधानीको मुटुमा रहेको ३०० रोपनी क्षेत्रफलको यस महङ्खवपूर्ण स्थानलाई देशकै प्रमुख प्रदर्शनीस्थलका रुपमा विकास गरिनु जरूरी छ । 

सरकारले अहिले निर्माण गरिरहेको चोभारस्थित प्रदर्शनीस्थललाई विकल्पका रुपमा प्रयोग गर्न सकिने गरी भुकुटीमण्डपमा भूमिगत पार्किङसहितको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउन हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । भृकुटीमण्डपमा रहेका साना व्यापारी तथा संघसंस्थाका कार्यालयलाई अर्को ठाउँमा व्यवस्थापन गरेर भए पनि यो ठाउँ देशको उद्योग÷व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रयोग गर्न जरूरी छ । 

विसं २०३५ सालमा स्थापना भएको प्रदर्शनी हल अबको समयका लागि उपयुक्त छैन । त्यसैले समय सापेक्ष बृहत् संरचना निर्माण गरिनुपर्छ । त्यो निर्माण गर्न अर्बौं रूपियाँ लगानी आवश्यक हुन्छ, जुन सरकार र निजी क्षेत्र दुवै मिलेर गर्दा उपयुक्त हुन्छ । सार्वजनिक–निजी साझेदारीमा प्रदर्शनीस्थल बनाउँदा यसको सञ्चालन र व्यवस्थापन पनि प्रभावकारी हुन सक्छ । विदेशीलाई देखाउनलायक प्रदर्शनीस्थल नहुँदा नेपालको प्रतिष्ठामा समेत आँच पुग्दै आएको छ । नेपाली उद्योगी÷व्यवसायीले संकुचित ढंगले भए पनि अहिलेको अव्यवस्थित भृकुटीमण्डपमा काम चलाउँदै आएका छन् ।   

अर्कोतर्फ मानिसलाई मेला अवलोकन गर्न राजधानीको मुटुमा रहेको भृकुटीमण्डप जत्तिको उपयुक्त ठाउँ चोभार हुँदैन । मेला अवलोकन गर्न जान सबैसँग आफ्नो निजी सवारीसाधन हुँदैन । चोभारमा सार्वजनिक यातायातको सहज सुविधा पनि छैन । प्रदर्शनीस्थलका लागि सहज र प्रभावकारी ठाउँ भृकुटीमण्डप नै भएकाले निजी क्षेत्रका संस्थाले पनि यसका लागि पहल गर्नु जरूरी छ । सँगसँगै वैकल्पिक प्रदर्शनीस्थलका रुपमा चोभारलाई पनि सञ्चालन गर्दा आयोजकलाई छनौटको अवसर पनि मिल्न सक्छ । 

Advertisement