देउवा पत्नी आरजुपछि प्रचण्डलाई पनि दिल्लीले बोलायो, प्रचण्ड आज दिउसो जाने

Advertisement

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को बोलावटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउसो नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री पत्नी आरजु देउवालाई बोलाएको केही दिनपछि दिल्लीले प्रचण्डलाई पनि बोलाएको हो । 

तीनदिने औपचारिक भ्रमणका लागि प्रचण्ड आज दिल्ली जान लागेका हुन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी दिल्ली जान लागेको जनाइएको छ । प्रचण्डले नड्डासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

Advertisement

समाचार स्रोतका अनुसार प्रचण्डले आइतबार बिहान मोदीसँग उनको निवासमा भेट गर्ने कार्यक्रम छ भने नड्डासँग भाजपा मुख्यालयमा शनिबार भेटवार्ता हुनेछ । प्रचण्डले शनिबार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डको सम्मानमा जयशंकरले शनिबार रात्रीभोज आयोजना गर्ने छन् भने भाजपा विदेश विभागले शुक्रबार रात्रिभोज दिने कार्यक्रम छ । 

प्रचण्डले शनिबार भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले उपाध्यक्ष रहेको फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदैछन् । माओवादी केन्द्रका नेताहरुले भने प्रचण्डको यो भ्रमण सदभावना भ्रमण मात्रै भएको जिकिर गर्दै आएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आएर फर्किएलगत्तै आरजु र प्रचण्डलाई दिल्लीले बोलाउनु अर्थपूर्ण देखिन्छ । 

Advertisement

Advertisement