मेरो दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्ध बलियो बन्छः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि आफूले नयाँ दिल्ली भ्रमण गरेको बताएका छन् । 

शनिवार भारत नयाँ दिल्लीस्थित नेपाली दुतावासको कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए । 

Advertisement

प्रचण्डले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याए । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको जिकिर गर्दै उनले नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने बताए । 

प्रचण्डले, ‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो । कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले दिल्ली बोलाएपछि प्रचण्ड शुक्रबार गएका थिए । उनले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका छन् । प्रचण्डले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ । 
 

Advertisement

Advertisement