मौद्रिक नीतिको ड्राफ्ट बन्यो, प्रधानमन्त्रीले समय नदिएपछि अन्योलमा

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिको ड्राफ्ट तयार भएको छ। राष्ट्र बैंकको अन्तर विभागीय सुझाव समितिले ड्राफ्ट गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको व्यवस्थापन समितिलाई बुझाइसकेको छ । समितिले टुंगो लगाएपछि मात्रै पारित गर्न सञ्चालक समिति पठाइने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । 

मौद्रिक नीतिको मस्यौदा अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ब्रिफिङ गर्ने प्रयासमा गभर्नर अधिकारी छन् । तर प्रधानमन्त्रीले कार्यव्यस्तता देखाउँदै समय नदिएकाले मौद्रिक नीतिमा ढिलाइ भइरहेको स्रोतको भनाइ छ । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा पूर्ण बन्देज त लगाउन पाउँदैन तर वस्तु आयात कर्जा प्रवाह रोक्ने मौद्रिक नीति भने आउनसक्ने संकेत गभर्नरले दिइसकेका छन् । समष्टिगत आर्थिक स्थायित्व हेरेर नीति बनाउनुपर्ने बाध्यता एकातिर छ भने निजी क्षेत्रको दबाब उत्तिकै छ ।

Advertisement

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पाट्र्सलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाललगायतका वस्तुको आयात घटेको छ। वस्तु निर्यातको वृद्धिदरभन्दा वस्तु आयातको वृद्धिदर धेरै हुँदा यो वर्ष व्यापारघाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ। 

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिटलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायतका वस्तुको निर्यात घटेको छ। आर्थिक वर्ष २०७८÷०७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै चालू आर्थिक वर्षमा मूल्यवृद्धि ८ दशमलव ५६ प्रतिशतले बढेको छ भने तलब तथा ज्याला ८ दशमलव ५० प्रतिशतले बढेको छ। रेमिट्यान्स लगातार गिरावटपछि जेठ महिनामा वृद्धि भएको छ। गत वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ३ दशमलव ८ प्रतिशतले बढेको छ। 

विदेशी मुद्रा सञ्चिति वैशाख महिनाको तुलनामा वृद्धि भए पनि गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ठूलो गिरावट रहेको छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ। झण्डै २ खर्बको गिरावट रहेको छ। 

Advertisement

Advertisement