कांग्रेसनिकट पत्रकारहरुको महाधिवेशन सुरु, चुनावको पक्षको कलम चलाउन देउवाको निर्देशन

Advertisement

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सो पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । 

कार्यक्रममा बोल्दै उनले निकट भविष्यमा हुन लागेको चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन निर्देशन दिए । देउवाले सरकार छिट्टै संसदीय चुनाव गर्ने तयारीमा रहेको भन्दै चुनावको पक्षमा कलम चलाउन निर्देशन दिएका हुन् । 

Advertisement

उनले हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ नयाँ प्रविधिलाई पनि ग्रहण गर्दै अघि बढ्नुपर्ने बताए । पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेको देउवाको भनाई थियो । उनले निष्पक्ष पत्रकारिताको माध्यमबाट मात्रै नेपालको लोकतन्त्र बलियो हुने बताए । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंका पथमा जाँदैछ भन्ने अफवाह चिर्नका लागि स्वतन्त्र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, ‘नेपालको अर्थतन्त्रमा समस्या छ तर श्रीलंका पथमा जाँदैन्  । नेपाल चाँडै दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा उदाउनेछ ।’

हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा देशभरबाट एक हजार छ सय ४० प्रतिनिधि सहभागी छन् ।

Advertisement

Advertisement