‘शहीद भीमदत्तको नाम लिंदा पनि कांग्रेसलाई सिरिङ्ग हुन्छ, किनभने टाउको उसैले कटाएको थियो’

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको बताएका छन् । 

कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसमा उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए । 

Advertisement

ओलीले नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइए पनि काँग्रेसले एउटा विज्ञप्ति निकाल्न नसकेको बताए । उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि काँग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको आरोप लगाए । 

ओलीले भने, ‘काँग्रेस धेरै पटक सत्तामा आयो । भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै । किनभने उसैले टाउको कटाएको थियो । भीमदत्त पन्तलाई काँग्रेसका सभापति मात्रिकाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो । त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ । विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ । दुर्गानन्द झा, काँग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए । उनले हानेका थिए थिएनन् आफ्नो ठाउँमा छ । हानेका थिएभने पनि परिवर्तनको लागि हानेका थिए । तर नेपाली काँग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिएन । उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन ।’ 

उनले थपे, ‘नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएको थियो काँग्रेसले त्यो कुरा गरेन । म आज कसैको आलोचना गर्न चाहन्न तर सत्ता स्वार्थका लागि, राजनीतिक स्वार्थका लागि यस्ता परिस्थिति पनि देखिए जहाँ आफ्नै पार्टीका आदरणीय नेताहरुलाई विधिवत फैसला सुनाएर फाँसीको सजाय दिएर मारियो । त्यसको बिरुद्ध एउटा वक्तव्यसमेत दिन सकेन । प्रतिक्रिया दिनसम्म सकेन । त्यो नेपाली काँग्रेसले गर्न नसकेको कुरा दुःख र शर्मनाक विषय हो ।’

अध्यक्ष ओलीले गिरिजाप्रसाद कोईराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागेको दाबी गरे । 
 

Advertisement

Advertisement