हामीले अघि सारेको देश विकासको वैकल्पिक मार्गचित्र अपरिहार्य छ, सबै दल त्यतै आउँदैछन्ः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आईतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्यसमितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीमा उनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै सरकार सत्ता टिकाउने खेलमा लागेको बताएका हुन् । 

देश पूर्णरुपले अभिभावकबिहीन भएको लिङदेनले बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए । लिङदेनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए । 

Advertisement

उनले कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता जनाए । लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको बताए । लिङदेनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको बताए । 

उनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए । लिङदेनले आफ्नो पार्टी आउने प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गरे । उनले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गरे । 

नेता लिङदेनले भने, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले पूर्णरुपले अभिभावक बिहीन बनेको छ । अहिलेका राजनीति दल जनताको जीउधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जे पनि गरिरहेको छ । भ्रष्टाचार त सामान्य विषय भएको छ । बजेट बनाउँदा अनाधकृत व्यक्ति प्रवेश गराउने व्यापारिक कोही एक घरानालाई प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ । नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेका छन् । त्यसकारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउनेहरु, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा हुनुपर्ने समय आएको छ ।’ 

उनले थपे, ‘यो पतनको बाटो हो । यो बाटोका नायकहरुबाट कुनै सुधारको आशा छैन् । राजनीतिक परिवर्तनमा समेत परिवर्तन गरेर जान जरुरी छ । भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेपछि मात्रै देशले स्थिरता प्राप्त गर्नसक्छ । यो बाटो नै यो देशको समस्याको समाधानको बाटो हो । यसलाई बलियो ढंगले जनताको बीचमा लैजानुपर्छ । आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जानेछौँ ।’

अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भए पनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गरे । उनले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताए । लिङदेनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशका हालका समस्या समाधानका लागि अपरिहार्य रहेको बताए । 

उनले देशको समस्या समाधान गर्न पार्टीले आगामी निर्वाचनमा निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्ने बताए लिङदेनले आफ्नो पार्टीले उठाएका मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता स्वीकार्नुपर्ने र ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्ने बताए । 

उनले भने, ‘हामीले उठाएका मुद्दा कहिले पूरा हुन्छ भन्ने कुरा आउँछ । तर यही काँग्रेस, एमाले, माओवादी हाम्रा मुद्दामा एकमत हुने दिन आउँछ । हामीले देशका मुद्दा उठाइरहेका छौँ भने र समाधानका मुद्दा उठाइरहेका छौँ भने एकदिन सबै पार्टी हामीसँग सहमत हुन्छन् । हामीले अघि सारेका मुद्दा र मार्गचित्र देशको लागि अपरिहार्य छ । त्यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई तिहाई होइन, दुई तिहाई पर्दैन, निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्छ । हाम्रा मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता मानेर जाने मात्रै होइन, झनै व्यापक रुपमा ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्छ । आउने चुनाव शान्तिपूर्ण ढंगले कुनै ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर हो । हामीले सारेको देशको लागि वैकल्पिक मार्गचित्र अपरिहार्य छ । त्यसैले हामीले आगामी चुनावमा बुद्धिमतापूर्वक निर्वाचनको उपयोग गर्नुपर्छ । परिवर्तन आवश्यक छ र अनिवार्य छ र हुनेछ ।’

लिङदेनले आउने चुनाव ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर भएकोले राप्रपाले सारेको देश विकासको वैकल्पिक मार्गचित्र अपरिहार्य रहेको बताए । 

Advertisement

Advertisement