‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छः शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउनुपर्ने बताएका छन् । 

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने शर्माको तर्क छ । 

Advertisement

उनले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न समेत गरे । सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे । भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ २०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे । 

काँग्रेसका कसको कसको छानबिन गर्ने हो ? गरे हुने तर गम्भीर रुपमा छानबिन हुनुपर्ने शर्माले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र काँग्रेसका कोही व्यक्ति दोषी देखिए काँग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै उनले कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे । शर्माले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथासरह भएको तर्क गरे । 

उनले भने, ‘सुशासन स्थापित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयको सन्दर्भमा हामीले गरेका प्रयासहरु जति प्रयासहरु गरेका छौँ, पर्याप्त छैनन्, पर्याप्त भएनन् । त्यसैले अहिले हामीले दबाबको भुमिका जरुरी छ । हामी सरकारमा हुँदा भएका कमजोरीको पनि फाइल खोलियोस् भनेर हाम्रो उपसभापति धनराज गुरुङको नेतृत्वमा संसदमा नेपाली काँग्रेस पार्टीले प्रश्ताव लगेको छ । नयाँ पार्टीका साथीहरुले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरु खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो काँग्रेस ? साथीहरु भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रश्ताव, सहमहामन्त्री बद्रिप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली काँग्रेस पार्टीले संसदमा प्रश्ताव नै दर्ता गरिसकेको छ । २०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रश्तावित गरेका छौँ ।’ 

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताए । उनले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोचि राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताए । शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्ने बताए । उनले नेपाल अनन्त सम्भावना रहेको देश भएको पनि बताए । 

Advertisement

Advertisement