ओठ निचोर्दा दुध आउने माननीयले समेत टेरामक्स प्रकरणको कुरा उठाएः पूर्वसञ्चारमन्त्री बस्नेत

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपियाँ घोटाला रोकेको दावी गरेका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा उनले आफूले कल बाइपास गरेर अर्बौं रुपियाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताए । बस्नेतले टेरामक्स भीओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । 

Advertisement

कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताउँदै उनले आफूले आँट गरेर सो विधिको शुरुवात गरेको जिकिर गरे । बस्नेतले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए । 

उनले भने, ‘टेरामक्समा ३ जना सांसदहरुको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा । एकदम कलिला, कलिला ओठ निचरे दुध आउने माननीयज्युहरुदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु । यति कुरा म सदनमा राख्न चाहान्छु । 

बस्नेतले थपे, ‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआइपी प्रकरणलाई नियन्त्रण गर्छ । संसारभरी यही विधिले नियन्त्रण गरेको छ र ठगी गर्ने धन्दा भएको छैन । नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजश्व घोटाला नेपालमा भएको छ । यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भीओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त ? संसारभरी विधि हुने यहाँचाहीँ विधि नहुने के हो त ? मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो ? यो भविष्यले बताउला । टेरामक्स नेपालमा अर्बौ रुपियाँ राजश्व जोगाउने मन्त्र हो । फर्मुला हो । यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ ।’

Advertisement

Advertisement