देखिएन बीमा क्षेत्रमा मर्जरको प्रभाव, लघुबीमा पनि सुस्त, बीमा पहुँचमा उल्टै गिरावट

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा बीमाको पहुँच घटेको छ । अघिल्लो आव २०७९–८० को अन्त्यसम्म नेपालमा बीमाको पहुँच ४४.३८ प्रतिशत रहेकोमा गत आवको अन्त्यसम्म आउँदा त्यो ४३.२७ प्रतिशतमा झरेको हो । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो । बीमा कम्पनीहरुले नयाँ व्यवसाय विस्तार गर्दै गए पनि तथ्यांकले भने बीमाको पहुँच उल्टै घटेको देखाएबाट बीमा क्षेत्रमा नयाँ चुनौति थपेको छ । प्राधिकरणले बीमाको दायरा बढाउँदै लैजाने योजना बनाएको छ । 

Advertisement

म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखसहित गरेर बीमाको पहुँचको अवस्था यस्तो देखिएको हो । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख हटाउँदा १८.०३ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार जीवन बीमलेख बाहेकको अवस्थामा भने ३६.५३ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको छ ।

अघिल्लो आवमा यस्तो पहुँच ३९.०३ प्रतिशत थियो । त्योअनुसार यस अवधीमा म्यादी र लघु म्यादी बीमालेखको संख्यामा कमी आएको देखिन्छ ।  
गत आवमा जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १.८१ प्रतिशतले घटेको छ ।

२०८० असार मसान्तसम्म एक करोड ४१ लाख ३७ हजार ३२१ वटा बीमा पोलिसि सक्रिय थियो । २०८१ असार मसान्तमा आउँदा त्यो एक करोड ३८ लाख ८१ हजार ४९२ वटामा सिमित भएको छ । 
गत आवको सुरुदेखि नै तीन वटा लघुबीमा कम्पनीले व्यवसाय सुरु गरेका छन् । 

साथै, केही ठूला बीमा कम्पनीहरु मर्ज भएर चुक्तापुँजी बढाइसकेको अवस्था पनि छ । त्यसले उनीहरुको व्यवसाय विस्तार गर्ने क्षमता बढेको छ । मर्जमा नभएका कम्पनीहरु पनि हकप्रद शेयर लगायतको माध्यमबाट पुँजी बढाउँदैछन् । 

त्यसले पनि उनीहरुको व्यवसाय विस्तार गर्ने क्षमता बढेको छ । त्यो अवस्थामा बीमा पहुँच बढ्नुपर्ने थियो । तर, उल्टै बीमा पहुँच घटेको प्राधिकरणको तथ्यांकले पुष्टी गरेको छ । यसले बीमा क्षेत्रमा मर्जर र लघुबीमा कम्पनीको आगमनको प्रभाव नभएको पनि पुष्टी गरेको छ । 

साथै, नियामक निकाय नेपाल बीमा प्राधिकरणले  स्थानीय तहहरुसँग बीमा साक्षरतासम्बन्धी अन्तरक्रिया गर्दै आएको छ । स्वयम बीमा कम्पनीहरु पनि समय समयमा बीमा साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएका छन् । तर, त्यसको प्रभाव भने नदेखिएको यो तथ्यांकले पुष्टी गरेको छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताले यस्तो अवस्था आएको बीमा कम्पनीहरु दावी गर्छन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलता कारण अधिकांशले आर्थिक अभावको समस्या सामना गरिरहेका छन् । यस्तो समस्या बीमा गरेकै व्यक्तिहरुमा पनि भएको बताइन्छ । 

त्यो अवस्थामा कतिपय बीमितले आफ्नो पोलिसी सरेन्डर (समर्पण) नै गरेर बीमा रकम फिर्ता लगेका छन् । साथै, कतिपय बीमितले आफ्नो पोलिसी नविकरण गर्न सकेको छैनन् । त्यो पोलिसी सरेन्डर पनि गरेका छैनन् । त्यस्तो पोलिसि पनि निष्क्रिय (ल्याप्स) भएर बसेको छ । 

सरेन्डर र पोलिसी ल्याप्स सामान्य अवस्थामा पनि हुने गर्छ । तर, यसपाली त्यसको अनुपात उच्च नै भएको बताइन्छ । साथै, नयाँ बीमा गर्ने व्यक्तिको संख्या पनि उत्साहजनक रुपमा बढेको छैन । त्यसले गर्दा बीमाको पहुँच घट्न गएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । आर्थिक शिथिलताकै कारण मर्जरको सिनर्जी नदेखिएको उनीहरुको भनाइ छ । 

गत आवमा कुल जीवन बीमाशुल्क संकलन पनि ९.८२ प्रतिशतले मात्रै बढेको छ । अघिल्ला बर्षहरुमा जीवन बीमा व्यवसायमा दोहोरो अंककै बृद्धि हुन्थ्यो । तर, अहिले जीवन बीमा कम्पनीहरुले दोहोरो अंकको बृद्धि गर्न सकेका छैनन् । 

अघिल्लो आवमा एक खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपियाँ जीवन बीमाशुल्क संकलन भएको थियो । गत आवमा त्यो एक खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवको तुलनामा व्यवसाय बढेपनि सन्तोषजनक बृद्धिदर नभएको कम्पनीहरु बताउँछन् । हाल नेपालमा १४ ठूला र तीन वटा लघु जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । 

Advertisement